काठमाडौं। हृदयघातपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाहलाई अब आइसीयूबाट क्याबिनमा सारिएको छ। चिकित्सकका अनुसार, उनका स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ।
चिकित्सकहरूले उल्लेख गरेअनुसार, पारस शाहलाई आइतबार साँझ हृदयघातपछि अस्पताल पुर्याइएको थियो। तत्काल परीक्षणपछि कोरोनरी एन्जियोग्राम गरिएको थियो, जसमा उनका मुटुको धमनी पूर्ण रुपमा बन्द भएको देखिएको थियो। त्यसपछि एन्जियोप्लाष्टी र स्टेन्ट प्रत्यारोपण गरेर धमनी खोलिएको थियो।
उनका चिकित्सकका अनुसार, पारस शाहलाई चौथो पटक हृदयघात भएको हो। राज परिवारमा हृदयघातको वंशाणुगत समस्या रहेको कारण पारसमा हृदयघातको जोखिम बढी रहेको बताइएको छ।
चिकित्सकहरूले अब केही दिन थप निगरानी राख्ने निर्णय गरेका छन् र बिहीबारसम्म उनलाई डिस्चार्ज गर्ने निर्णय गरिनेछ।
प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार

