काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने अडानसहित जवाफी पत्र पठाएका छन्।
बालेनले पत्रमा काठमाडौँ टावर परियोजना महानगरको अधिकार क्षेत्रभित्र पर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराए कानुनी झन्झट आउने उल्लेख गरेका छन्। जबसम्म अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुँदैन, तबसम्म निमित्तलाई आर्थिक अधिकार दिने प्रस्ताव गरेका छन्।
यसअघि मन्त्रालयले बालेनले हाजिर गर्न नदिएको भन्दै कर्मचारीलाई काम गर्ने वातावरण बनाउन आग्रह गरेको थियो। सरोज प्रसाद गुरागाईंले पुस ८ देखि कार्यालय प्रवेश रोकिएको गुनासो दिएका थिए।
गुरागाईंलाई गत भदौ २७ मा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो। तर, उनले पुरानो बसपार्कको भवन नक्सा पास गर्दा प्रक्रिया नअपनाएको भन्दै महानगरले छानबिन सुरु गरेपछि बालेनले उनलाई काम गर्न दिएका छैनन्।

