२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

प्रचण्डको फोटो जलाउने राप्रपा नेता विमानस्थलमा यसरी पक्राउ परे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा नेता नीराजन बम पक्राउ परेका छन्।

शनिबार हेटौंडामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनमा बमले प्रचण्डको तस्वीर जलाएका थिए। संघीय सांसद दीपकबहादुर सिंहको उपस्थितिमा भएको सो कार्यक्रममा उनले ‘यो मान्छेलाई चिन्नुहुन्छ होला नि’ भन्दै तस्वीर जलाएका थिए।

आइतबार चितवनको भरतपुर विमानस्थलबाट काठमाडौँ जान लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले पूर्वप्रधानमन्त्रीको तस्वीर जलाउनु आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरिएको बताए।

तर, यो कदमप्रति अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने पक्षहरूबाट आलोचना भएको छ। नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालका अनुसार तस्वीर जलाउनु विश्वव्यापी रूपमा मान्य विरोधको स्वरुप हो, जसलाई दमन गर्नु असहिष्णुता हो। अधिवक्ता स्वागत नेपालले भने, ‘यदि मानहानी भएको दाबी छ भने सम्बन्धित व्यक्ति आफैं अदालत जानुपर्छ, राज्यसंयन्त्रको दुरुपयोग गर्नु गलत हो।’

बमको गिरफ्तारीको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले विज्ञप्ति जारी गर्दै पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भनेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस