२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

जुन श्रीमतीको ‘हत्या’ आरोपमा २ वर्ष जेल बसे उनी अहिले प्रेमीसँग होटलमा यस्तो हालतमा भेटिइन्

काठमाडौं । भारतको कर्नाटक राज्यस्थित कोडागु जिल्लामा एक अद्भुत घटनाले देशभर तरंग ल्याएको छ। श्रीमती मल्लिगेको हत्या गरेको आरोपमा दुई वर्ष जेल बसेका सुरेश नामक आदिवासी मजदुरको जीवनमा ठूलो अन्याय भएको खुलेको छ, जब उनकी श्रीमती जिउँदै प्रेमीसँग होटलमा कफी पिउँदै गरेको अवस्थामा भेटिइन्।

३५ वर्षीय सुरेशले नोभेम्बर २०२० मा श्रीमती मल्लिगे हराएको उजुरी दिएका थिए। खोजीको क्रममा एक अज्ञात महिलाको कंकाल फेला पर्नु र त्यसलाई मल्लिगेको शव ठानी सुरेशलाई हत्या आरोपमा पक्राउ गरी जेल पठाइएको थियो। प्रहरीको दबाबमा सुरेश र उनकी सासूले शवको पहिचान गरेका थिए।

सुरेश शिक्षित थिएनन्, तर हस्ताक्षर गर्न जान्दथे। उनीमाथि प्रहरीले हस्ताक्षर गर्न बाध्य पारेर कागजातहरूमा हस्ताक्षर गराएको आरोप छ। पछि एक वकिल बीएस पाण्डु पुजारीले मुद्दा निशुल्क लड्न सहमति जनाएपछि कंकाल र मल्लिगेकी आमाको डिएनए परीक्षण माग गरियो। रिपोर्टले कंकाल मल्लिगेको नभएको पुष्टि गर्‍यो।

तर धरौटी रकमको अभावमा सुरेश जेलमै बसे। उनले सेप्टेम्बर २०२४ सम्म कैद भोगे। रिहा भएपछि पनि प्रहरीको सहयोग नपाएका सुरेशको लागि अप्रत्याशित रूपमा सत्य बाहिर आयो। अप्रिल १ मा उनका साथीहरूले मल्लिगेलाई एक होटलमा प्रेमीसँग कफी पिउँदै गरेको अवस्थामा देखे। भिडियो खिचेर सुरेशलाई पठाएपछि, उनले प्रहरीलाई खबर गरे।

प्रहरीले मल्लिगेलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा, उनले नोभेम्बर २०२० देखि आफ्नो प्रेमीसँग ३० किलोमिटर टाढा बस्दै आएको स्वीकार गरिन्। उनले सुरेशमाथि हत्या आरोप लागेको थाहा नभएको बताइन्।

अब अदालतले मैसूरका प्रहरी प्रमुख र अनुसन्धान अधिकृतलाई (अप्रिल १७) भित्र स्पष्टिकरण सहित प्रतिवेदन पेश गर्न आदेश दिएको छ। वकिल पुजारीले मृतक महिला को थिइन् भन्ने कुरा अझै अपुष्ट भएकोमा चिन्ता व्यक्त गर्दै प्रहरीमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस