२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

जेलभित्रै बलात्कार आरोपित युवकले गरे प्रेमिकासँग विवाह

जेलभित्रै बलात्कार आरोपित युवकले प्रेमिकासँग गरे विवाह

ओडिसा, भारत । भारतको ओडिसास्थित गंजम जिल्लामा बलात्कारको मुद्दामा जेल परेका एक युवकले आइतबार जेल परिसरमै प्रेमिकासँग विवाह गरेका छन्।

कोडालास्थित उप–कारागारमा आयोजित विवाह समारोहमा दुलाहा र दुलहीका परिवारका सदस्य, समाजका प्रतिष्ठित व्यक्ति तथा जेल अधिकारीहरू सहभागी थिए।

२२ वर्षीया युवतीले २६ वर्षीय सूर्यकान्त बेहेराविरुद्ध गत वर्ष नोभेम्बरमा बलात्कारको उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपूर्व बेहरा गुजरातको सुरतमा काम गर्दै आएका थिए।

पीडित र बेहेराबीच पुरानो प्रेमसम्बन्ध रहेको बताइएको छ। दुलहीका वकिल पीके मिश्राका अनुसार दुई परिवारबीच केही असमझदारी भएपछि उजुरी दर्ता भएको थियो। पछि आपसी सहमतिमा विवाहको निर्णय लिइएको हो।

जेलर तारिणीसेन देहुरीले कानुनी प्रक्रिया पालना गर्दै विवाह गराइएको जानकारी दिए। “हामीले कारागार प्रशासनको अनुमति लिई हिन्दु परम्पराअनुसार विवाह गराएका हौं,” उनले भने।

विवाहमा बेहुला सजिएर सिंगारिएको गाडी चढेर समारोह स्थल (जेल) पुगेका थिए। विवाहपछि बेहुली घर फर्किइन् भने बेहुला भने मुद्दा चलिरहेकाले पुनः जेल फर्काइएका छन्।

बेहुलाका बुबा भास्कर बेहेराले छोराको चाँडै रिहा भइ सुखी वैवाहिक जीवन सुरु हुने आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस