२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

चार वर्षमै शेरबहादुर देउवाका छोरा जयवीरको नाममा एक अर्बको ७३ रोपनी जग्गा, स्रोत खै ?

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र सांसद आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाको नाममा पछिल्ला चार वर्षमा झण्डै एक अर्ब रुपैयाँ बराबरको ७३ रोपनी जग्गा खरिद भएको पाइएको छ। काठमाडौंको चपली, कास्कीको ढिकुरपोखरी र बर्दियासम्म फैलिएका यी सम्पत्तिको स्रोत भने अझै स्पष्ट छैन।

२०७४ सालदेखि २०७८ सम्मको अवधिमा जयवीरको नाममा खरिद गरिएका जग्गाहरूमा करिब २२ रोपनी ढिकुरपोखरी, २ रोपनी चपली र बर्दियामा करिब २५ हजार वर्गमिटर जग्गा रहेका छन्। यी सम्पत्तिहरू सामान्य बजार मूल्यअनुसार एक अर्ब रुपैयाँभन्दा बढीका छन्। तर जयवीरको आम्दानीको स्रोत सार्वजनिक छैन।

राजनीतिमा सक्रिय देउवा दम्पतीले आफ्नो सम्पत्ति विवरणमा यी जग्गाबारे कुनै उल्लेख गरेका छैनन्। त्यस्तै, सांसदको रूपमा आरजुले पनि यी विवरण समावेश गरेकी छैनन्। नेपाली कानूनअनुसार आफन्तको सम्पत्तिसमेत विवरणमा देखाउनुपर्ने व्यवस्था छ। बेलायतबाट फर्किएपछि केही वर्षमै जयवीरको नाममा विभिन्न कम्पनीको सेयर पनि ट्रान्सफर भएको देखिन्छ। ब्लूप्रिन्ट ट्रेडिङ, गोदावरी मिनरल वाटर, मण्डला होल्डिङ्स जस्ता कम्पनीमा उनको संलग्नता छ। ब्लूप्रिन्ट ट्रेडिङले स्यानिटरी प्याड आयातमा कर छुट पाएको र यसको नीति बनाउन तत्कालीन अर्थमन्त्रीले भूमिका खेलेको भन्ने विवाद समेत उठिसकेको छ।

यी सम्पत्ति र व्यावसायिक विस्तारलाई देउवा दम्पतीले जयवीरलाई राजनीतिक उत्तराधिकारी बनाउने तयारीका रूपमा हेरिएको छ। कांग्रेसको क्रियाशील सदस्यता लिइसकेका जयवीर सार्वजनिक रूपमा खासै देखिँदैनन्, तर राजनीतिमा उनको चासो बढ्दो देखिएको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस