२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

हमासले ‘बिदाई तस्वीर’मा विपिन जोशीलाई समावेश गर्‍यो, के छ पछिल्लो अवस्था ?

काठमाडौं । गाजा–हमासको सशस्त्र शाखाले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको अनुहार देखाइएको छ। यस तस्वीरमा नेपालका विपिन जोशीको पनि छवि समावेश गरिएको छ।

तर तस्वीर सार्वजनिक भए पनि ती बन्दीहरूको वास्तविक अवस्था खुलाइएको छैन। टाइम्स अफ इजरायलले भनेको छ कि हमासले यो कदम इजरायली सरकार र बन्दीका परिवारमा दबाब सिर्जना गर्न चाहेको हो।

हमासले इजरायली स्थलगत र हवाई आक्रमणले गाजामा रहेका बन्दीहरूको सुरक्षा जोखिममा परेको उल्लेख गरेको छ। सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहर नियन्त्रणमा लिन अभियान जारी राख्दा हमासले फोटो सार्वजनिक गरेको हो।

शनिबार अनलाइनमा प्रकाशित तस्वीरमा जीवित र मृत दुवै बन्दीहरू देखिएका छन् र तिनीहरूलाई ‘रोन अराड’ नामक क्याप्सन दिइएको छ। रोन अराड सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेन हुन्, जसको वास्तविक अवस्था अझै अज्ञात छ।

हमासले तस्वीरसँगै उल्लेख गरेको छ कि ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो।’ यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग कुनै सम्झौता नगर्ने अडानलाई संकेत गर्छ।

इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दी जीवित रहेको विश्वास व्यक्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्। हमासले स्थल र हवाई आक्रमण बढ्दा बन्दीहरूको जीवन जोखिममा पर्ने चेतावनी दिइरहेको छ।

शनिबार लाखौं इजरायलीहरूले तेल अवीभ र अन्य शहरमा प्रदर्शन गर्दै युद्ध अन्त्य र सबै बन्दीलाई फर्काउन तत्काल सम्झौता गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस