
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव मंगलबार हेलिकप्टरमार्फत उपत्यकाबाहिर पठाइएको छ। शिक्षण अस्पतालमा पोष्टमार्टम पश्चात शव पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिएका छन्।
उनका अनुसार उदयपुरमा दुई जनाको र धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीमा १–१ जनाको शव पठाइएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले निःशुल्क रूपमा शव पठाउने निर्णय गरेको थियो।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भदौ २३–२४ मा जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ। जसमध्ये ३ जनाको मृत्यु प्रहरीतर्फ भएको हो। मृत्यु हुनेमा असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा छन्।
प्रदर्शनकारीमध्ये नयाँ बानेश्वरमा गोली लागेर घटनास्थल र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन्। उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ रहेका छन्।