२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

२ वर्षपछि जारी बिपिन जोशीको भाइरल भिडियोमा के छ ?

काठमाडौं – इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ।

भिडियो बुधबार (असोज २२ गते) बेलुकी सार्वजनिक गरिने बन्धक परिवार फोरमले जानकारी दिएको छ।

जोशीको परिवारले विज्ञप्तिमा भनेको छ: ‘गाजामा फेला परेको यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिन्छ।’

जोशी कृषि शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए र उनलाई किबुत्ज आलुमिमबाट अपहरण गरिएको थियो।

जेरुसेलम पोस्टका अनुसार, वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टमा जोशीले आफू बसेको आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ। दुई ग्रेनेड झ्याल नभएको कोठामा फ्याँकिँदा, उनले एक ग्रेनेड समातेर बाहिर फ्यालेका थिए, जबकि दोस्रो ग्रेनेड विस्फोट हुँदा उनका पाँच साथी घाइते भएका थिए।

समाचारमा भनिएको छ, ‘जोशीलाई हमासले अपहरण गरी गाजातर्फ लगेको थियो र एक समय उनलाई शिफा अस्पतालमा राखिएको थियो। उनका जीवित अवस्थाको पुष्टि गर्ने प्रमाण धेरै आएका छैनन्, तर एउटा भिडियोमा उनलाई उक्त अस्पतालमा देखाइएको थियो।’

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस