२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

अमेरिकामा लेखियो नयाँ इतिहास : नेपाली उद्यमी समीर मास्केको कम्पनी नास्डाकमा सूचीकृत

काठमाडौं । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) कम्पनी ‘फ्यूज मेसिन’ अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ।

फ्यूज मेसिन ‘फ्यूज’ सिम्बोल अन्तर्गत बिहीबारदेखि नास्डाकमा कारोबार सुरु भएको हो। यससँगै फ्यूज मेसिन नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ, जसले नेपाली उद्यमशीलताको इतिहासमै नयाँ अध्याय सुरु गरेको छ।

कम्पनीले आफ्नो सफलतालाई “सबैका लागि एआईलाई लोकतान्त्रिक बनाउने” मिसनको नयाँ चरणको रूपमा व्याख्या गरेको छ। सार्वजनिक सूचीकरणपछि कम्पनीले विश्वव्यापी रूपमा बढ्दो एआई सोलुसन्सको मागलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने विश्वास लिएको छ।

संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. मास्केले भनेका छन्, “एउटा सानो, मिशन–प्रेरित टोलीबाट सुरु गरेर नास्डाकमा सूचीकृत कम्पनी बन्नु हाम्रो नवप्रवर्तन र कार्यसम्पादनप्रतिको अटल प्रतिबद्धताको प्रतिफल हो। यो सूचीकरण हाम्रो अर्को अध्यायको सुरुवात हो, जुन अनुशासित वृद्धि, रणनीतिक लगानी र शेयरधनीका लागि दिगो मूल्य सिर्जनामा केन्द्रित हुनेछ।”

सन् २०१३ मा स्थापना भएको फ्यूज मेसिनले हाल उत्तरी अमेरिका, एशिया (नेपाल, डोमिनिक रिपब्लिक लगायत) र ल्याटिन अमेरिकामा कार्यालयहरू खोलेर स्वास्थ्य, वित्त, खुद्रा, उत्पादन र सरकारी क्षेत्रमा एआई सेवा प्रदान गर्दै आएको छ।

मर्जर सम्झौता मार्फत प्राप्त लगानीबाट कम्पनीले आफ्नो ब्यालेन्स सिट मजबुत पार्ने, नयाँ उत्पादनमा नवप्रवर्तन गर्ने र बजार विस्तारका लागि रणनीतिक लगानी गर्ने जनाएको छ।

काठमाडौंमा जन्मिएका र कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसर समेत रहेका डा. मास्केले नास्डाक सूचीकरणलाई “नेपाली मूलको कम्पनीका लागि ऐतिहासिक सफलता र गर्वको क्षण” भएको बताएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस