२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

विपिनको मृत्युमा इजरायली राजदूतको चकित पार्ने नयाँ दाबी, सबै स्तब्ध

काठमाडौं । गाजामा हमासको नियन्त्रणमा रहँदा नेपाली विद्यार्थी विपिन जोशी गोली हानी हत्या भएको इजरायलले पुष्टि गरेको छ।

जोशीको पार्थिव शरीर नेपाल फिर्ता भएपछि उनको परिवारले मंगलबार कञ्चनपुरमा दाहसंस्कार गरिसकेको छ। कार्यक्रममा नेपालका लागि इजरायली राजदूत स्मूलिक एरी बासले जोशीको टाउकोमा गोली लागेको र हमासले हत्या गरेको जानकारी दिएका थिए।

बासले बीबीसीसँग भने, “फोरेन्सिक परीक्षणले विपिनको टाउकोमा गोली लागेको देखाएको छ। सबैले उनलाई जीवित मानिरहेका थिए, तर हमासको नियन्त्रणमा रहँदा हत्या भएको हो। विधिविज्ञान परीक्षणले यसलाई पुष्टि गरेको छ।”

शोकमा रहेका परिवारलाई भेट्दा राजदूत बासले विपिन जोशीको साहस र इजरायल-नेपाल सम्बन्धमा उनको योगदान स्मरणीय रहने बताए।

इजरायलको दाबी अनुसार, जोशी युद्धको आक्रमणमा नभई बन्धक बनाएर गोली हानी हत्या गरिएको हो। यसबारे हालसम्म हमासको कुनै प्रतिक्रिया आएको छैन।

हमासले पटक-पटक जीवित र मृतक बन्धकहरूको नाम सार्वजनिक गर्दै आएको छ, तर जोशीको नाम कहिल्यै सार्वजनिक गरेको थिएन। असोज २२ गते विपिनको पुरानो भिडियो सार्वजनिक भएको थियो, जसले नेपालीहरूमा आशा जगाएको थियो।

तर, असोज २४ गते सार्वजनिक नामावलीमा जोशीको नाम थिएन र उनका बारेमा स्थिति अज्ञात भएको पुष्टि भयो। अन्ततः असोज २७ गते इजरायली सेनाले विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी भिडियो कन्फरेन्समार्फत विपिनकी बहिनी, दाजु किशोर, नेपाली राजदूत धनप्रसाद पण्डित र इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई दिएका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस