२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

इजरायलमा चमत्कार : जीवित बन्धकहरूको सूचीमा बिपिन, तीन करोड नेपालीमा खु:शीको लहर

काठमाडौं । गाजामा अझै पनि बन्धक अवस्थामा रहेका २२ जनामध्ये एक मात्र नेपाली नागरिक बिपिन जोशीको अवस्था फेरि चर्चामा आएको छ। इजरायली अधिकारीहरूका अनुसार हाल गाजामा रहेका ती २२ मध्ये अधिकांश इजरायली नागरिक हुन् भने बिपिन मात्र गैर–इजरायली हुन्।

२०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि १२०० जना इजरायली मारिएका र २५१ जना अपहरणमा परेका थिए। तीमध्ये करिब २५ जनाको मृत्यु भएको र बाँकी करिब २० जना अझै जीवित रहेको इजरायलले जनाएको छ।

२४ वर्षीय बिपिन कृषि अध्ययनका लागि छात्रवृत्तिमा इजरायलको अलुमिम किब्बुत्ज पुगेका थिए। आक्रमणका क्रममा उनले साथीहरूलाई जोगाउने प्रयास गर्दै जीवित ग्रेनेड फ्याँकेका थिए र त्यसपछि अपहरणमा परे।

हालै सुरु भएको युद्धविराम अन्तर्गत बाँकी २२ जना बन्धकलाई ७२ घण्टाभित्र मुक्त गरिने अपेक्षा गरिएको छ। यस साटासाटमा इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न लागेको छ।

जानकारी अनुसार जिवितमा विपिनसँगै गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो छन्। त्यसैगरी, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न छन्।

एपीका अनुसार सेगेभ काल्फोन, बार कुपर्श्तेन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जङ्गाउकर देखिएका छन्।

बिपिनकी १७ वर्षीया बहिनी पुष्पा जोशी नियमित रूपमा घरबाट आठ घण्टा यात्रा गरी काठमाडौं पुगेर अधिकारीहरूसँग भेट गर्छिन्। परिवारले हालै इजरायली राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरी तेल अविभमा अन्य बन्धकका परिवारसँगै प्रदर्शनमा भाग लिएको थियो।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस