२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भएका खगेन्द्रबारे बोल्यो प्रहरी, प्रहरीका प्रवक्ताले के भने?

काठमाडौं। विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका खगेन्द्र सुनारलाई प्रहरीले कानूनबमोजिम कारबाही गर्ने तयारी थालेको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतले साउन ५ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा प्रहरी सुनारलाई पक्राउ गर्न लागिपरेको हो।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालतले साउन २ गते सुनारलाई दोषी ठहर गर्दै पक्राउ गरी कारबाही अघि बढाउन आदेश दिएको थियो। सो आदेशपछि ५ गते अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

त्यससँगै सुर्खेत जिल्ला अदालतले पनि २०८१ असार २१ गते तोडफोड तथा हातपातसम्बन्धी मुद्दामा सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। यस्तै, जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा पनि दर्ता गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई पक्राउ गर्नु प्रहरीको नियमित प्रक्रिया भएको बताए। उनका अनुसार मान्छे को हो भन्ने होइन, कानूनबमोजिम काम गर्नु नै प्रहरीको दायित्व हो।

‘मान्छे को हो भनेर हेर्ने होइन, पक्राउ पुर्जी जारी भएको छ भने कानूनअनुसार कारबाही हुन्छ,’ घिमिरेले भने। ‘सुनारविरुद्ध विभिन्न जिल्लामा मुद्दा दर्ता छ र दुई जिल्लाबाट पक्राउ पुर्जी जारी भएको अवस्थामा प्रहरीले कानूनबमोजिम कारबाही गर्छ।’

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस