२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

प्रचण्डको जादू काम आयो, नेकपा एससहित यी ६ दलले माओवादीसँग एकता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरूसँग एकताको प्रक्रिया थालेको छ। पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले एकता प्रक्रिया चाँडै टुंग्याउने निर्णय गरेको जानकारी दिए।

पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हाम्रो आजको बैठकको एजेन्डा पार्टी एकता थियो। पार्टी एकतामा वैचारिक, राजनीतिक, सैद्धान्तिक, नीतिगत कुराहरू करिब टुंगो लगाइसकेको छौं। आज खासगरी प्राविधिक र सांगठनिक विषयमा छलफल केन्द्रित भएको छ।’

सापकोटाका अनुसार एकताको सम्भावना नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, प्रेमबहादुर सिंह र राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टी, र भर्खरै नेकपाबाट विद्रोह गरेका चिरण सीसँग रहेको छ।

उनले भने, ‘हामीले विप्लव सीको पार्टीलाई पनि सँगै ल्याउने प्रयास गरेका छौं। एकीकृत समाजवादीलाई पनि साथमा ल्याउने प्रयास जारी छ।’

उनका अनुसार, अब ढिलो नगरी एकता गर्नुपर्ने निष्कर्षमा बैठक पुगेको छ। ‘एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहल कमजोर हुन्छ,’ उनले भने।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस