२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति आउन अब करिब ९० दिन बाँकी रहेको छ । निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन आयोगले आवश्यक तयारी तीव्र पारेको छ भने राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार मङ्सिर २० गते देखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलहरूले यही मङ्सिर २१ गते बिहान १०:०० बजेदेखि अपराह्न ४स्०० बजेसम्म आवेदन दिन सक्नेछन् र आवेदन दिएका दलको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ ।

आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०स्०० बजेदेखि अपराह्न ४स्०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ, भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा आगामी माघ ३० गते प्रकाशित हुने कार्यक्रम तय भएको छ।

यसैगरी, प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ र सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुनेछ। उम्मेदवारीमाथि माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ। आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। त्यसपछि माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न प्रदान गरिनेछ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस