२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

जेनजी प्रदर्शन : सरकारले केपी ओली र रमेश लेखकलाई त्यसै नछोड्ने, बयान कहिले?

काठमाडौं। भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहसँग सम्बन्धित घटनाको छानबिन गरिरहेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगको म्याद थपबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न गएको आयोगको टोलीले राजनीतिक दलका शीर्ष नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको जानकारी दिएको हो।

छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री दुवैलाई बयानका लागि बोलाइने बताए। उनले भने, त्यो समयका प्रधानमन्त्री र गृहमन्त्री सबैको बयान लिन्छौं, अर्को हप्ता बोलाउने तयारी छ।

ओली र लेखक बयानका लागि नआउने चर्चा चलिरहेको सन्दर्भमा के आयोगले के गर्छ भन्ने प्रश्नमा अध्यक्ष कार्कीले पछिको कुरा पछि नै हुन्छ भन्ने प्रतिक्रिया दिए।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले पनि ओली र लेखक बयानका लागि छिट्टै आउने दाबी गरे। उनले सञ्चारकर्मीहरूलाई ढुक्क हुन आग्रह गर्दै बयान प्रक्रिया अगाडि बढ्ने बताए।

आयोगको म्याद सकिनै लाग्दा बयानका कामहरू अझै नसकिएकाले सरकारसमक्ष एक महिना म्याद थप गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस