२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

गगनको अध्यक्षतामा कांग्रेसका ६ ठूला निर्णय सार्वजनिक, देउवाको भूमिकाबारे के भनियो ?

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ६ बुँदे महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सभापति गगन थापाको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै यसलाई कसैको हार–जित नभई विधि र लोकतन्त्रको विजय भएको ठहर गरेको हो।

बैठकले पूर्वसभापति शेरबहादुर देउवाको लामो योगदानको कदर गर्दै आगामी दिनमा उनको अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरेको छ। साथै, अब कुनै पनि अप्राकृतिक गठबन्धन नगर्ने, मूल्य–मान्यतामा अडिग रहने र संविधानको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याइएको छ।

कांग्रेसले फागुन २१ को निर्वाचनमा पूर्ण एकता र नयाँ ऊर्जासहित सहभागी हुन सबै तहका नेता–कार्यकर्तालाई आह्वान गरेको छ। पार्टी छाडेका वा निष्क्रिय रहेका सबैलाई पुनः कांग्रेसमा फर्कन आग्रह गर्दै यसलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’को सुरुवात भनिएको छ।

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस