२०८३ मङ्सिर ७ गते आइतवार | 2026 November 22nd Sunday

प्रचण्डले अबको तीन हप्तापछि नेपालमा के हुने भविष्यवाणी गरेका हुन् ?

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको तीन हप्तापछि देशमा अर्कै परिस्थिती आउने भविष्यवाणी गरेका छन् । उनले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न नेता–कार्यकतालाई निर्देशन दिँदै नेकपाको पकडमा सत्ता आउने बताए । पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन् ।

निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उनले भने ‘जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुन लागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकर्ता तथा शुभेच्छुक आ–आफ्नो ठाउँबाट खटिन आवश्यक छ, आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस् ।’

‘निर्वाचनको अन्तिम अवस्थामा अन्य पार्टीसँग चुनावी तालमेल गरी नेकपाले उम्मेदवारी निष्क्रिय गराउने हल्ला फैलाउन सक्नेतर्फ सचेत गराउँदै अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समीकरण वा तालमेल गर्ने पक्षमा छैनौँ, आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसदमा ठूलो पार्टी बन्न चाहन्छौँ’, संयोजक प्रचण्डले भने । संयोजक प्रचण्डले अबको तीन सातापछि मुलुकभर नेकपाले सबै दललाई टप्ने जिकिर गरे ।

विगतमा सभा सम्मेलनको लागि खर्च हुने पैसा अहिले डिजिटल प्रचारमा खर्चिएको भन्दै अबको तीन हप्तापछि पार्टीको माहोल छुट्टै हुने दावी गरे । ‘ठूला–ठूला सम्मेलन र सभा गरेर, लाखौं खर्च गरेर भोट माग्ने जमान गइसकेको छ, टोल–टोल र घरघरमा गएर आफ्नो कुरा बताउनु पर्नेछ’, उनले भने, ‘प्रविधिमा हामी साम्राज्यवादीसँग प्रतिष्पर्धा त गर्न सक्दैनौँं तर गलत सूचनालाई काउन्टर दिन सकिन्छ, हाम्रो साथीहरु लागिराख्नु भएको छ, तीन हप्तापछि सबैलाई टप्यो भन्ने दिन आउँदैछ ।

 

प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस