२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

लगातार तेस्रो हारको संकेतपछि भट्टराईको घोषणा: अब काठमाडौं–४ बाट चुनाव नलड्ने

प्रकाश काफ्ले/काठमाडौं:राजन भट्टराईले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका छन्। नेकपा एमालेका सचिवसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्।

यस क्षेत्रमा भइरहेको मतगणनाको अवस्थाले उनी तेस्रो पटक पनि पराजित हुने सम्भावना देखिएपछि उनले यस्तो निर्णय लिएको बताएका छन्। यसअघि पनि उनी २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दा पराजित भएका थिए। दुवै निर्वाचनमा उनलाई गगन थापा ले हराएका थिए।

हालको चुनावमा पनि जनमत आफ्नो पक्षमा ल्याउन नसकेको स्वीकार गर्दै भट्टराईले लोकतान्त्रिक प्रणालीमा मतदाताको निर्णय सर्वोच्च हुने बताएका छन्। उनले निर्वाचन परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको उल्लेख गर्दै विजयी उम्मेदवारलाई बधाई समेत दिएका छन्।

साथै, उनले व्यक्तिगत निर्णयका रूपमा भविष्यमा काठमाडौं–४ बाट कुनै पनि निर्वाचनमा उम्मेदवारी नदिने जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस