२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

संसदीय इतिहासमै सबैभन्दा धेरै मतसहित बालेन शाहको ऐतिहासिक जित

प्रकाश काफ्ले / काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह ले अहिलेसम्मकै सबैभन्दा धेरै मत प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेका छन्।

झापा–५ बाट उम्मेदवार बनेका शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्यन्त ठूलो मतान्तरले पराजित गरेका हुन्। शाहले कुल ६८ हजार ३४८ मत प्राप्त गरे भने ओली १८ हजार ७३४ मत मा सीमित भए। शाहले प्राप्त गरेको यो मत संसदीय निर्वाचन इतिहासमै सबैभन्दा धेरै मानिएको छ।

यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्र झापा–५ बाट एमाले अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएर जित हासिल गरेका थिए। त्यस्तै, २०७४ कै निर्वाचनमा दोलखाबाट एमालेका पार्वत गुरुङले ५५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए।

यसबीच २०८० सालको उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गर्दै जित हासिल गरेका थिए।

त्यसैगरी चितवन–३ बाट रास्वपाकी सोबिता गौतमले ५९ हजार २७७ मत ल्याएर विजयी भएकी थिइन् भने लामिछानेले सोही चितवन–२ मा अर्को निर्वाचनमा ५४ हजार ४०२ मत पनि प्राप्त गरेका थिए।

अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले उल्लेखनीय मतसहित जित हासिल गरेका छन्। मोरङ–६ बाट रूबिना आचार्यले ५५ हजार ५१३ मत ल्याएर जितिन्।

काभ्रे–२ मा बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्दै विजय हासिल गरे।

त्यस्तै, रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत ल्याउँदै पचास हजारभन्दा बढी मतसहित विजयी हुने नेतामध्ये आफूलाई स्थापित गरेका छन्।

 

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस