२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

धनुषा–१ मा विवादकै बीच मातृका यादवलाई निर्वाचित प्रमाणपत्र

प्रकाश काफ्ले / काठमाडौं । धनुषा–१ निर्वाचन क्षेत्रबाट नेकपा उम्मेदवार मातृका यादवलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र हस्तान्तरण गरेको छ। यो कदम त्यही बेला आएको हो जब मत परिणामको विवाद अझै चलिरहेको छ।

यस विवादको कारण थियो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेजी। प्रारम्भिक मतगणनाअनुसार यादवले १० हजार ४०३ मत प्राप्त गरेका थिए भने कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत पाएका थिए।

यसैबीच रास्वपाका उम्मेदवारहरूले जम्मा १३ हजारभन्दा बढी मत पाएका थिए, तर उम्मेदवारी खारेजी भएपछि उनीहरूको मत परिणाम सार्वजनिक गरिएको थिएन। गत फागुन १८ गते निर्वाचन आयोगले शाह कमलको उम्मेदवारी खारेजी गरेको थियो। उनी त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए।

सर्वोच्च अदालतले उक्त रिटको सुनुवाइ नहुँदासम्म क्षेत्र नं. १ को अन्तिम परिणाम घोषणा नगर्न आदेश दिएको थियो। तर, आफ्नो मत अग्रता देखाएर मातृका यादवले निर्वाचन परिणाम घोषणा र प्रमाणपत्र हस्तान्तरणको माग गर्दै दबाब दिएका थिए।

प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस