२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

नेपालको आन्तरिक उडानमा नयाँ एयरलाइन्सको थप, दशैं अगाडि बाटै नै सुरु हुँदै।

प्रकाश काफ्ले/काठमाडौँ। नेपालको आन्तरिक हवाई सेवामा नयाँ कम्पनी थपिने भएको छ। हाल सीमित एयरलाइन्सले मात्र सेवा दिइरहेको अवस्थामा डाँफे एयरलाइन्सले २०८३ सालको दसैंदेखि नियमित उडान सुरु गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको छ।

एयरलाइन्सले उडान सञ्चालनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरिसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कम्पनीले केही साताअघि एनओसी पाएको हो। उडान अनुमति प्राप्त गरेपछि अब कम्पनीले जहाज खरिद, प्रशिक्षण उडान तथा प्राविधिक तयारीका काम अगाडि बढाउनुपर्ने हुन्छ।

डाँफे एयरलाइन्सका सञ्चालक अभिषेकमान श्रेष्ठका अनुसार एनओसी प्राप्त भएसँगै कम्पनीले जहाज ल्याउने र डेमोस्ट्रेशन उडानको तयारी सुरु गरेको छ। उनले २०८३ असारमा पहिलो जहाज नेपाल ल्याएर प्रशिक्षण उडान सुरु गर्ने र त्यसपछि दसैंबाट नियमित सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताए।

कम्पनीले प्रारम्भिक चरणमा एटिआर ७२-६०० प्रकारका तीन वटा जहाज प्रयोग गर्ने योजना बनाएको छ। यो आधुनिक टर्बोप्रोप विमान नेपालका लागि नयाँ हुने कम्पनीको दाबी छ।

पहिलो जहाज असारमा ल्याइनेछ भने त्यसपछि थप दुई वटा जहाज ल्याएर तीन वटै विमानमार्फत आन्तरिक उडान सञ्चालन गरिनेछ। यसका लागि आवश्यक कर्मचारी तथा प्राविधिक जनशक्ति नियुक्त गर्ने काम पनि सुरु भइसकेको कम्पनीले जनाएको छ। यात्रुलाई उच्चस्तरीय सुविधा र आरामदायी सेवा दिने उद्देश्यका साथ एटिआर ७२-६०० विमान छनोट गरिएको बताइएको छ।

पोखरालाई आधार बनाएर सञ्चालन हुने डाँफे एयरलाइन्सले माउन्टेन फ्लाइटका साथै नेपालगन्ज, सुर्खेत, पोखरा, विराटनगर, भद्रपुर, सिमरा, जनकपुर, भैरहवा र तुम्लिङटारसम्म उडान गर्ने योजना बनाएको छ। प्रारम्भिक चरणमा धनगढीमा उडान नहुने र चौथो जहाज थपिएपछि मात्र त्यहाँ सेवा विस्तार गरिने कम्पनीले जनाएको छ।

एक दशकअघि बन्द भएको मकालु एयरको नाम परिवर्तन गरी नयाँ व्यवस्थापन समूहले डाँफे एयरलाइन्स सञ्चालनमा ल्याउन लागेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षअघि मकालु एयरको इजाजतपत्र अद्यावधिक गर्दै डाँफे एभिएसन कर्पोरेसनको नाममा २०८४ भदौ २९ गतेसम्मका लागि आन्तरिक वायुसेवा सञ्चालन अनुमति दिएको थियो।

कम्पनीका अनुसार तीन वटा विमान सञ्चालनका लागि करिब ४ अर्ब रुपैयाँ लगानी आवश्यक पर्नेछ। अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार एउटा एटिआर ७२-६०० विमानको मूल्य झण्डै ११ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६४ करोड रुपैयाँ) पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस