प्रकाश काफ्ले / काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री कमलबहादुर शाह को तत्काल राजीनामा माग गरेको छ। बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीले आफ्नो जिम्मेवारीमा खटिएका कर्मचारीसँग घुस माग गरेको भिडियो सार्वजनिक भइसके पनि पदमा रहनु लज्जास्पद भएको बताएका छन्। नेता भट्टले मुख्यमन्त्रीको नैतिकतामा प्रश्न उठाउँदै भने, “मन्त्री वा कर्मचारीको अभिलेख सार्वजनिक हुँदा जिम्मेवारले तुरुन्त कदम चाल्नु पर्छ। तर मुख्यमन्त्रीले लाज पचाएर पदमै बसेको घटना नाजायज छ। यस अवस्थामा नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्नेछ।” भट्टका अनुसार, कर्मचारीले सार्वजनिक गरेको घुस सम्बन्धी आरोपको प्रत्यक्ष प्रमाण हुँदाहुँदै पनि मुख्यमन्त्रीले उल्टै आफूमाथि छानबिन गर्नुपर्ने भन्दै सत्ताको दुरुपयोग गर्नु गैरजिम्मेवारीको चरम उदाहरण हो। उनले शाह नेतृत्वको सरकार ‘कुम्भकर्ण शैलीमा’ सुतेको आरोप लगाउँदै भने कि, राजधानी घोषणा भएको धेरै वर्ष बितिसक्दा पनि कार्यान्वयन गर्न नसक्ने यो सरकार जनताको कामभन्दा भ्रष्टाचारमा मात्र ध्यान दिएको छ।
भट्टले चेतावनी दिंदै भने, “प्रदेशसभा बैठक आह्वान भएमा प्रतिपक्ष कडा प्रतिवाद गर्नेछ।” यो विवाद डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट का सनसनीपूर्ण दाबीबाट सुरु भएको हो। भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र दिन नसक्दा सरुवा गरिएको दाबी गरेका छन्। यता मुख्यमन्त्री शाहले भने यी आरोपहरूलाई ‘कपोलकल्पित र भ्रामक’ भन्दै अस्वीकार गरेका छन्। उनले आरोप लगाउने कर्मचारीहरू कृष्ण भट्ट र रामचन्द्र कँडेल को विगत विवादास्पद रहेको र उनीहरूमाथि छानबिन र कारबाही गरिने चेतावनी दिएका छन्।
सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) २१ सदस्यसहित सबैभन्दा ठूलो पार्टी हो। प्रमुख प्रतिपक्षीले राजीनामा मागेपछि कांग्रेस नेतृत्वको सरकार थप दबाबमा परेको छ।

