प्रकाश काफ्ले /काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा नेपाल र नेपाली जनतालाई बधाई दिएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ ले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै नेपाललाई बधाई दिएकी हुन्।
प्रवक्ता माओ निङले संघीय संसदअन्तर्गत प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न भएकोमा चीन सन्तुष्ट रहेको बताइन्। उनले चीनले नेपालसँगको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई सधैँ उच्च महत्व दिएको उल्लेख गर्दै दुई देशले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा एक–अर्कालाई सहयोग गर्दै आएको स्मरण गराइन्। उनले आगामी दिनमा पनि चीन नेपालसँग सहकार्य गर्दै विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित रणनीतिक सहकार्यलाई अझ मजबुत बनाउने तयारीमा रहेको बताइन्।
यसअघि निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र करिब ५७ प्रतिशत मत खसेको औपचारिक जानकारी दिएको थियो। त्यसपछि चीनले नेपाललाई बधाई सन्देश दिएको हो।
निर्वाचनका लागि मित्रराष्ट्र चीनले नेपाललाई करिब ४० लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग पनि उपलब्ध गराएको थियो।

