२०८३ असोज २० गते मङ्गलवार | 2026 October 6th Tuesday

नेपालसहित दक्षिण एसियामा आज ईद उल–फित्र धूमधामका साथ मनाइँदै

प्रकाश काफ्ले/काठमाडौ । नेपालसहित दक्षिण एसियाका विभिन्न देशहरूमा आज ईद उल-फित्र धूमधामका साथ मनाइँदै छ। खाडी मुलुकहरूमा भने मुस्लिम समुदायले यो पर्व शुक्रबार नै मनाइसकेका छन्। शुक्रबार साँझ चन्द्रमा देखिएपछि नेपाल, भारत र पाकिस्तान लगायतका देशहरूमा इद मनाउने तयारी अन्तिम चरणमा पुगेको हो।

यस वर्ष मुस्लिम धर्मावलम्बीहरूले फागुन ७ गतेदेखि सुरु भएको पवित्र रमजान  महिनाभर रोजा (उपवास) बस्दै आएका थिए। इस्लाम धर्मअनुसार बालिग महिला र पुरुषहरूले सूर्योदयदेखि सूर्यास्तसम्म निराहार रही रोजा पालन गर्छन्।

इदुल फित्रको अवसरमा मुस्लिम समुदायका मानिसहरू नजिकैका इदगाह वा मस्जिदमा भेला भएर विशेष नमाज अदा गर्छन्। नमाज सम्पन्न भएपछि एक–अर्कालाई अँगालो हाल्दै शुभकामना आदान–प्रदान गर्ने चलन पनि व्यापक रूपमा प्रचलित छ।

यस पर्वमा दुधबाट बनाइने मीठो परिकार ‘सेवइँ’ विशेष महत्वका साथ तयार गरिन्छ। साथै, नयाँ लुगा लगाउने र परिवार तथा साथीभाइबीच खुसी साट्ने परम्परा पनि रहिआएको छ।

इस्लाम धर्मका पाँच आधारभूत स्तम्भ— इमान, नमाज, रोजा, जकात र हज—मध्ये रोजा तेस्रो स्थानमा पर्छ। एक महिनाको रोजा समाप्त भएसँगै त्यसको खुशीयाली स्वरूप इदुल फित्र मनाउने गरिन्छ।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस