प्रकाश काफ्ले/काठमाडौं। पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ। मंगलबार दिउँसो १ बजेको मापन अनुसार काठमाडौँ विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा पुगेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९५ पुगेको छ, जुन जनस्वास्थ्यका लागि ‘अति अस्वस्थकर’ स्तर मानिन्छ।
वातावरण विभागका अनुसार पछिल्लो एक सातादेखि उपत्यकाको हावाको गुणस्तर लगातार बिग्रँदै गएको छ। वातावरण धुम्म देखिने, हावाको बहाव कम हुने तथा प्रदूषित हावा बाहिर ननिस्कने अवस्थाका कारण प्रदूषण उच्च स्तरमा पुगेको बताइएको छ।
उपत्यकाभित्र सबैभन्दा बढी प्रदूषण लाजिम्पाट क्षेत्रमा मापन गरिएको छ, जहाँ दिउँसो १ बजेको एक्यूआई २२६ पुगेको छ। त्यस्तै रानीबारी क्षेत्रमा एक्यूआई १९६ र क्षेत्रपाटीमा १८८ मापन गरिएको छ। उपत्यका बाहिर भने मध्यपश्चिमको वीरेन्द्रनगरमा सबैभन्दा बढी प्रदूषण देखिएको छ, जहाँ एक्यूआई २३२ पुगेको छ। सुदूरपश्चिमको धनगढीमा पनि प्रदूषण उच्च रहेको छ र त्यहाँको एक्यूआई २०९ मापन गरिएको छ।
स्विट्जरल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार प्रदूषित सहरहरूको सूचीमा भारतको दिल्लीको एक्यूआई २४७ रहेको छ, जुन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड अनुसार ‘अति अस्वस्थकर’ स्तरमा पर्छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार नेपालमा केही स्थानमा वर्षा भए पनि हावा कम चलेका कारण प्रदूषण बाहिर जान सकेको छैन। उनले सामाजिक सञ्जालमार्फत भनेका छन् कि अन्य देशबाट आएको प्रदूषण पनि नेपालमा थुनिएर बसेको छ। उनका अनुसार हावा चल्ने र राम्रो वर्षा हुने अवस्था बनेपछि मात्र वायु गुणस्तरमा सुधार आउने सम्भावना छ।
वायु प्रदूषण पूर्वानुमान अनुसार बिहीबारदेखि वायुको गुणस्तरमा सुधार हुने सम्भावना देखिएको छ, जुन बुधबार दिउँसोदेखि सुरु हुन सक्ने मेघगर्जनसहितको वर्षासँग मेल खान्छ। नेपालमा हिउँदको समयमा वायु प्रदूषण सामान्यतया उच्च हुने गर्छ। सवारीसाधनबाट निस्कने धुवाँ, इँटाभट्टा तथा उद्योगबाट निस्कने प्रदूषण र भारतबाट हावासँगै आउने धूलोका कारण स्थिति झन् खराब हुने गरेको छ। वन क्षेत्रमा लाग्ने डढेलोले पनि प्रदूषण थप बढाउने गर्छ।

