प्रकाश काफ्ले/काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पछिल्लो निर्वाचनको समीक्षा गर्दै पार्टीभित्र नेतृत्व परिवर्तन र संगठन पुनर्गठनको विषय उठाएका छन्। विभिन्न सञ्चारमाध्यममा आफ्नो धारणा राख्दै उनले पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यदि नेतृत्व त्यसका लागि तयार नभए कडा तथा अप्रिय निर्णयसमेत लिनुपर्ने अवस्था आउन सक्ने चेतावनी उनले दिएका छन्।
भट्टराईको यही अभिव्यक्तिलाई लिएर गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री तथा एमाले नेता कृष्ण पाठकले तीव्र प्रतिक्रिया जनाएका छन्। उनले भट्टराईमाथि ‘अमुक शक्ति केन्द्रबाट सञ्चालित एजेन्ट’ जस्तो व्यवहार देखाएको आरोप लगाएका छन्।
पाठकले पार्टीमा सुधार आवश्यक रहेको स्वीकार गरे पनि भट्टराईको शैली र सार्वजनिक अभिव्यक्ति अस्वीकार्य भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले भने, “एमालेमा करेक्सन आवश्यक छ र त्यो हुनेछ पनि। तर योगेश भट्टराईजस्तो अराजक, असहिष्णु र चरम पूर्वाग्रही अभिव्यक्ति दिने व्यक्तिलाई अनुशासनको दायरामा ल्याउनुपर्छ।”
एमाले अध्यक्ष केपी शर्मा ओली निकटका नेताका रूपमा चिनिने पाठकले पार्टीभित्र अनुशासन कायम राख्नुपर्नेमा जोड दिएका छन्।

Screenshot

