२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

नेपाल-चीन सम्बन्धमा नयाँ आयाम: रास्वपाको जितमा चिनियाँ कम्युनिस्ट पार्टीको विशेष बधाई

प्रकाश काफ्ले / काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहित ऐतिहासिक सफलता हासिल गरेको उपलक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चिनियाँ कम्युनिस्ट पार्टी (CPC) ले औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालका अनुसार, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पठाएको उक्त विशेष सन्देशमा रास्वपासँगको बढ्दो सम्बन्ध र भविष्यको सहकार्यप्रति उत्साह व्यक्त गरिएको छ। सन्देशमार्फत दुई देशका प्रमुख राजनीतिक शक्तिहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता चिनियाँ पक्षले जनाएको छ।

खनालले जानकारी दिएअनुसार, प्राप्त पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउने विषयलाई प्राथमिकता दिइएको छ। पत्रमा दुवै देश र जनताको साझा हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्पलाई पुन: दोहोर्‍याउँदै यसले क्षेत्रीय स्थिरतामा समेत बल पुर्‍याउने विश्वास लिइएको छ। विशेषगरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्दै, चिनियाँ पक्षले उहाँहरूको कार्यकालमा नेपाल-चीनबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धले नयाँ उचाइ चुम्ने अपेक्षा राखेको छ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि काँधमा काँध मिलाएर काम गर्ने तत्परता समेत देखाएको छ। यसको प्रतिउत्तरमा रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अविचलित रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारेको छ। विभाग प्रमुख खनालले चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यो शुभेच्छा र ऐक्यबद्धताका लागि पार्टीको तर्फबाट औपचारिक धन्यवाद ज्ञापन गर्दै आगामी सहकार्यका लागि आफूहरू उत्साहित रहेको बताउनुभएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस