२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

देशको राजनीतिमा निर्णायक भूमिका मेरै हुनेछ : प्रचण्ड

पुष्प कमल दाहाल( प्रचन्ड)ले आगामी राजनीतिक परिदृश्यमा आफू नै प्रमुख र प्रभावशाली नेता रहने दाबी गरेका छन्।रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले नयाँ बन्ने संसद्मा आफ्नो अनुभव र नेतृत्व अत्यन्त महत्वपूर्ण रहने बताएका हुन्। उनका अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा अब आफ्नो भूमिका केन्द्रमा रहनेछ। विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै उनले केही स्थापित नेताहरू यसपटकको निर्वाचनमा कमजोर अवस्थामा पुगेको टिप्पणी गरे। उनले विशेष गरी के.पि  शर्मा ओलि लगायतका नेताहरूलाई संकेत गर्दै यस पटकको प्रतिस्पर्धा उनीहरूका लागि सहज नदेखिएको बताए।

यद्यपि आफ्नो दलले मात्र सरकार बनाउने स्पष्ट अंकगणित नभए पनि नयाँ उदीयमान शक्तिहरूले अनुभवी नेतृत्वको मार्गदर्शन आवश्यक पर्ने उनको भनाइ थियो। उनले विशेष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार गठन वा सञ्चालनका क्रममा आफूसँग सल्लाह र सहकार्य गर्नुपर्ने अवस्था आउने दाबी गरे। सम्बोधनका क्रममा उनले भदौ २३ र २४ मा भएको ‘जेन–जी’ आन्दोलनको पनि चर्चा गरे। उक्त आन्दोलनले नेपाली राजनीतिमा नयाँ ऊर्जा र बहस सिर्जना गरेको भन्दै त्यसलाई सही दिशामा लैजाने क्षमता आफूसँग रहेको उनले बताए। युवा पुस्तामा देखिएको असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्दै देशलाई स्थिरता र स्पष्ट राजनीतिक मार्ग दिनुपर्ने जिम्मेवारी अहिले आफ्नो काँधमा आएको उनले उल्लेख गरे।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस