प्रकाश काफ्ले/काठमाडौ। प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई-तिहाइ बहुमत (१८२ सिट) सहित ऐतिहासिक सफलता हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १३ चैतमा नयाँ सरकार गठन गर्ने औपचारिक निर्णय गरेको छ। बिहीबार साँझ दरबारमार्गस्थित होटल रोयल सिंगीमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), र उपसभापतिद्वय डिपी अर्याल तथा स्वर्णिम वाग्लेबीच बसेको उच्चस्तरीय बैठकले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउने निष्कर्ष निकालेको हो।
निर्वाचन आयोगले बिहीबारै राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तिम मतपरिणाम प्रतिवेदन बुझाएसँगै संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ। सोही प्रक्रिया अन्तर्गत, १२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सिंहदरबारको नयाँ संसद् भवनमा हुनेछ। शपथ ग्रहण लगत्तै रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर बालेन शाहलाई संसदीय दलको नेता चयन गरिने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
पार्टी सभापति रवि लामिछानेले यसपटक मन्त्री चयनमा नयाँ मापदण्ड अपनाइने बताउनुभएको छ। उहाँले कुनै पनि शक्ति केन्द्र नधाउन सांसदहरूलाई निर्देशन दिँदै विज्ञता र क्षमताका आधारमा मात्र मन्त्रीहरू छानिने स्पष्ट पार्नुभएको छ। १३ चैतमा प्रधानमन्त्रीको शपथसँगै सानो आकारको मन्त्रिमण्डलले पनि शपथ लिने तयारी छ। यता संसद् सचिवालयले १६ चैतका लागि संसद्को पहिलो अधिवेशन आह्वान गर्न प्रस्ताव गरेको छ। रास्वपाले सबैभन्दा ठुलो दलको रूपमा संसद् भवनमा आफ्नो संसदीय कार्यालयको व्यवस्थापन समेत मिलाइसकेको छ।

