नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पूर्वमन्त्री भगवती चौधरीको पहलमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोटका बाढीपीडित परिवारलाई खाद्यान्नसहित विभिन्न राहत सामग्री उपलब्ध गराएको छ।

नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ का ४१ घरपरिवार, वडा नं. १ लगायतका प्रभावित क्षेत्रका गरी करिब ३०० घरपरिवारलाई पुग्ने राहत सामग्री नेशनल भोलेन्टियर्सको समन्वयमा उपलब्ध गराइएको हो।

राहत सामग्रीमा चामल, ब्ल्याङ्केट, सरसफाइका सामग्री, कित्ली तथा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्री समावेश छन्। नेशनल भोलेन्टियर्सको समन्वयमा होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारका लागि समेत सामग्री उपलब्ध गराइएको छ। उक्त सामग्री आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्याइने जनाइएको छ।

राहत वितरण तथा बाढी प्रभावित क्षेत्रको अवलोकनमा पूर्वमन्त्री भगवती चौधरीसँगै,फरवार्ड माइक्रोफाइनान्सको टिम र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको समेत सहभागिता रहेको थियो। टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्नुका साथै पीडित परिवारसँग प्रत्यक्ष कुराकानी गरी उनीहरूको समस्या र तत्कालीन आवश्यकताबारे जानकारी लिएको थियो।

पीडितको गुनासो– संघसंस्थाकै सहयोगमा अस्थायी जीवन
स्थानीय बाढीपीडितसँगको कुराकानीका क्रममा उनीहरूले बाढीपछि सरकारले आफ्नो व्यवस्थापन तथा पुनर्स्थापनाका लागि अपेक्षाअनुसार पहल नगरेको गुनासो गरेका छन्।
पीडितहरूका अनुसार अहिले अस्थायी आवासदेखि खाद्यान्न, लगाउने कपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीसम्म सामाजिक संघसंस्था तथा स्वयंसेवी समूहले उपलब्ध गराइरहेका छन्।

बाढीले घर तथा सम्पत्तिमा क्षति पुर्याएपछि विस्थापित बनेका परिवारका लागि तत्काल राहतसँगै सुरक्षित र स्थायी बसोबासको व्यवस्था प्रमुख आवश्यकता रहेको उनीहरूले बताएका छन्।
पीडित परिवारको अवस्था र गुनासो सुनेपछि पूर्वमन्त्री भगवती चौधरीले सरकारले उपयुक्त जग्गा उपलब्ध गराए बाढीपीडितका लागि केही घर निर्माण गर्न आवश्यक पहल र समन्वय गर्ने बताउनु भयो।

उहाँले विपद्पछिको राहत वितरणमा मात्र सीमित नभई प्रभावित परिवारलाई सुरक्षित आवाससहित दीर्घकालीन रूपमा पुनर्स्थापित गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो।
थप ५०० टेन्ट वितरणको तयारी
तत्कालका लागि करिब ३०० घरपरिवारलाई पुग्ने राहत सामग्री उपलब्ध गराइएको छ भने बाढीका कारण विस्थापित परिवारको अस्थायी बसोबासलाई सहज बनाउन थप ५०० थान टेन्ट केही दिनभित्र वितरण गर्ने तयारी गरिएको छ।
उक्त टेन्ट पनि नेशनल भोलेन्टियर्सलगायत सम्बन्धित पक्षको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्याइने जनाइएको छ।
यसअघि सरकारको राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ
फरवार्ड माइक्रोफाइनान्सले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत सामग्री पुर्याउनुअघि पनि पीडितको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरिसकेको छ।
यसअघि भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा हातेमालो गर्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारको राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम सरकारको राहत कोषमा उपलब्ध गराएको थियो। त्यसपछि पनि प्रभावित समुदायको तत्कालीन आवश्यकता महसुस गर्दै संस्था प्रत्यक्ष रूपमा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको हो।
सरकारको राहत कोषमा आर्थिक सहयोगदेखि प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, ब्ल्याङ्केट, सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु उपलब्ध गराउनेसम्मका कार्यलाई संस्थाले निरन्तरता दिएको छ।
बाढीपीडितको तत्कालीन राहतसँगै उनीहरूको सुरक्षित आवास र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार, स्थानीय तह, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा स्वयंसेवी समूहबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

