काठमाडौं । मौसमविद् राजन लामिछानेका अनुसार अझै आगामी दुई दिन पश्चिमी नेपालमा वर्षाको गतिविधि अझ बढ्ने भएको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा भारी तथा केही ठाउँमा धेरै भारी वर्षा भएको छ।
पाल्पाको अर्चलेमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। लगातारको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको मौसमविद्ले बताएका छन्। आज र भोलि विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा बढी हुने तथा पूर्वी क्षेत्रमा भने क्रमशः मौसम सुधार हुँदै जाने अनुमान छ। असोज १० गतेसम्म प्रणाली पश्चिमतर्फ सर्ने भएकाले लुम्बिनी र सुदूरपश्चिममा वर्षा बढ्न सक्नेछ।
असोज ११ गते पूर्वमा मौसम सुधार भए पनि पश्चिममा प्रभाव कायम रहने र असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुने विभागको पूर्वानुमान छ। असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ घट्ने सम्भावना छ। मौसम प्रणाली परिवर्तन हुनसक्ने भएकाले विभागले निरन्तर निगरानी गर्दै आवश्यक सूचना तथा चेतावनी अद्यावधिक गर्ने जनाएको छ। भारी वर्षा र चेतावनी जारी भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

