काठमाडौं । भुटानमा अचानक आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएको आशंकापछि आएको बाढीले तातोपानी क्षेत्र, सडक तथा सिँचाइ संरचनामा क्षति पुर्याएको हो।
बाढीले पुनाखा–गासा राजमार्गको केही भाग बगाउँदा लाया क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएको छ। जोखिमलाई ध्यानमा राख्दै सेना, कर्मचारी तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये सिन्ताफु पनि एक हो। हिमताल विस्फोट भएको आधिकारिक पुष्टि भने भइसकेको छैन। नदीको जलस्तर निगरानी गर्दै तल्लो तटीय क्षेत्रमा साइरन बजाएर सतर्कता अपनाइएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।
प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार


