२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

सिन्धुली दुर्घटना अपडेट : बेपत्ताको खोजीकार्य जारी, कुरिनटारबाट थप गोताखोरको टोली गयो

Sindhuli accident update

काठमाडौं । सुनकोशी नदीमा शुक्रवार बिहान स्कोर्पियो खस्दा बेपत्ता भएका तीन जनाको खोजीकार्य जारी छ। खोजीकार्यका लागि कुरिनटारबाट शनिवार थप गोताखोर सिन्धुली गएका छन् । शनिवार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा थप ४ जना गोताखोरसहित ७ जनाको टोली सिन्धुलीको लागि प्रस्थान गरेको हो ।

बेपत्ताको खोजीका लागि शुक्रवार आश्रित गुल्म सिन्धुलीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १३ जना, रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना र काठमाडौंको सिनामंगलस्थित नम्बर २० विपद् उद्धार गणबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जना गोताखोर टोली परिचालन गरिएको छ।

भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) बाट खोटाङ जाने क्रममा बा१झ ७४६७ नम्बरको स्कोर्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो। गाडी सडकबाट करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो।

स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर नदी बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–९ घर भइ सीटीईभीटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका–७ घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलामको फुयतपा घर भई हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन्।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस