२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सय किलो सुन प्रकरण : विमानस्थल र भन्सार कार्यालयबाट प्रमाण संकलन गर्दै भन्सार विभाग

काठमाडौं । एकै पटक ठूलो परिमाणमा सुन भित्रिएको र भन्सार कार्यालयबाट पनि पास भएर गएको पाइएपछि भन्सार विभागभित्र हलचल भएको छ। करिब एक सय किलो सुन भन्सारबाट सहजै जाँचपास गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गेटमा पुगेको पाइएपछि राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार उक्त सुन बरामद गरेको थियो।

सुनसहित ४ जनालाई पक्राउ गरिएको छ। यो प्रकरणले भन्सारको चेकजाँचमाथि पनि प्रश्न उठाएको र विभागकै कर्मचारीको मिलेमतो विना कसरी पास हुन सम्भव भयो भनी विभागले छानबिन थालेको छ। विभागले अनुसन्धान विभागको निर्देशकको नेतृत्वमा छानबिन समिति पनि बनाएको छ।

विभागका सूचना अधिकारी पुन्यविक्रम खड्काका अनुसार विभागले अनुसन्धानसँगै प्रमाणहरु संकलन पनि थालेको छ। सुन भन्सारबाट जाँचपास हुदाँ कोको थिए, कसरी पास भयो र कसरी बाहिर निस्क्यो भनी विमानस्थल भन्सारको सीसीटीभीसहित अन्य विवरणहरु संकलन थालिएको उहाँले बताउनुभयो ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलको नेतृत्वमा बिहान बसेको बैठकले छानबिनसहित प्रमाण संकलन र अनुसन्धान अघि बढाउने निर्णय भएको हो। जाँचपासमा संलग्नबाहेक आवश्यकताअनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने विभागले जनाएको छ। राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्‍याएको सुन बरामद गरिएको थियो। सुन बरामदपछि अनुसन्धानका क्रममा ६ जना पक्राउ परेका छन्। सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ।

 

 

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस