२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

माथिल्लो तामाकोसीको हकप्रद शेयर निष्कासन गर्ने तयारी

upper tamakoshi hydropower project share

दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामा बगर स्थितको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।

आयोजनाले दोलखामा स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । कम्पनीले साउन २५ गते बुक क्लोज गर्ने तथा भाद्र महिनाको पहिलो साता साधारण सभा सम्पन्न गरी त्यसपछि शेयर निष्कासन प्रक्रिया सुरु गर्ने आयाेजनाका कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनु भयो ।

आयोजनाले हकप्रद शेयर निष्कासन गर्न लाग्दा समेत अझै धेरै दोलखाबासीले भने आफूले पाएको स्थानीय शेयर अभौतिकिकरण नगरेका कारण समस्या हुने देखिएको छ । डिम्याट खाता खोली शेयर अभौतीकीकरण नगरेका शेयर धनीहरूले हकप्रद शेयरमा आवेदन गर्न पाउने व्यवस्था छैन ।

दुई लाख ७६ हजार दोलखशालीले स्थानीय शेयर प्राप्त गरेकोमा करिब ८४ हजारको डिम्याट खाता रहेको छ । अझै करिब एक लाख ९२ हजार जनाको शेयर अभौतीकीकरण हुन बाँकी रहेको देखिएको छ ।

जिल्लामा डिम्याट खाता खोल्न विभिन्न बैङ्कहरूले समय समयमा अभियान चलाए पनि डिम्याट खाता खोल्ने तर तामाकोसी शेयर अभौतिकिकरण गर्न खासै चासो नदिएका कारण ठुलो सङ्ख्यामा दोलखालीहरु शेयर भर्नबाट वञ्चित हुने सम्भावना बढेको दोलखाका स्थानीयहरूको चिन्ता रहेको छ ।

शेयर अभौतिकिकरण गर्न सनराइज क्यापिटलले दोलखामा नै काउन्टर खोलेर सेवा दिनुपर्ने स्थानीयहरूको माग रहेको छ । जिल्लामा रहेका बैङ्कहरू तथा ब्रोकरहरूले पनि डिम्याट खाता खोल्न अभियान नै चलाउनुपर्ने स्थानीयले जोडदार माग राखेका छन् ।

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस