२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

किशोरीसँग रहेका रोहितको गर्धनमा खुकुरी र छातीमा पेस्तोल राख्दा कराएपछि हत्या

काठमाडौं । विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ। पक्राउ परेकाहरू मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङ हुन्।

उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। पक्राउ परेका मध्ये दिपक घटनाका मुख्य अभियुक्त हुन्। उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडकखण्डको सेउती पुल नजिकैको जंगलमा साउन ५ गते गोली प्रहार गरेका थिए।

हो–हल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । ‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटेको र त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरेका संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले भन्नुभयो ।

उनीहरूले गोली हानेर पानमारा जंगलमा पसेका थिए । ‘रोहित र किशोरी सेउती पुलको जंगल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जंगलतिर भागेको देखिएको छ,’ अनुशन्धानमा खटिएका प्रहरीको भनाई छ । रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको छ उहाँले भन्नुभयो ।

‘हामीले सबै कोणबाट सुक्ष्म तरिकाले अनुसन्धान गरेका थियौ,’ उहाँले भन्नुभयो, ‘हत्या गरिनुको कारण लुटपाट नै रहेको देखियो।’ लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ। अहिले दुई जना पक्राउ परेका छन्। एक जना फरार रहेको डिआइजी बास्तोलाले बताउनुभयो । पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त छन्।

पक्राउ परेका दिपक जबरजस्ती करणी मुद्दमा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि छुटेको देखिन्छ । तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेका थिए। उनीहरूले यसअघि पनि चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिआइजी बास्तोलाले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस