२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं । मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार नापी अधिकृत गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामीले ललितपुरको साबिक टीकाथली गाविस ६, कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ को विभिन्न कित्ताहरू कायम गर्ने क्रममा तोकेको क्षेत्रफलभन्दा कम हुने गरी कानुन विपरीत कित्ताकाट गरेको आरोप लागेको छ।

उहाँका अनुसार नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नम्बर २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी नक्सामाभन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरिएको छ। कार्यालयका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवालले कानुन विपरीत लिखत पारित गरेको आरोप लागेको छ।

राउसाई होल्डिङ्गस् प्रा. लि., ललितपुर महानगरपालिका २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठले जग्गा बेच्ने क्रममा नापी कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव पारी गलत लिखत तयार पारेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ। आरोपितविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस