२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

पत्ता लाग्यो बुढ्यौली रोक्ने रसायन

काठमाडौं । आधुनिक सूचना प्रविधि जगत्को सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ।एआईको दाबी अनुसार अब छिट्टै नै बुढोपना कम गर्ने औषधी बनाइने छ। युनिभर्सिटी अफ एडिनबर्ग अन्तर्गतको इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड मोलिक्युलर मेडिसिनका शोधकर्ता वेनेसा मेर बारेटोका अनुसार उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर २१ वटा शक्तिशाली अणु पत्ता लगाएका छन्। ती अणुलाई सेनोलाइटिक ड्रग्स बनाउनमा प्रयोग गर्न सकिन्छ, जुन औषधीले बुढ्यौली कम गर्न तथा बुढ्यौली उमेरमा हुने रोग तथा स्वास्थ्य समस्याबाट पनि बचाउँछ।

सेनोलाइटिक औषधीले सेनेसेन्ट कोषिकालाई मार्दछ। यस्ता कोषिका शरीरमा जीवित हुने तर आफूजस्तै अन्य कोषिका उत्पादन गर्न नसक्ने खालका हुन्छन्। त्यसैले ती कोषिकालाई ‘जोम्बी सेल्स’ पनि भनिन्छ। यी कोषिकाको डिएनए क्षतिग्रस्त हुने र नयाँ कोषिका समेत बनाउन नसक्ने भएकाले शरीरका लागि हानिकारक तथा बोझजस्तै हुन्छन्। छालाको कोषिका सूर्यको किरणबाट क्षतिग्रस्त हुन्छ। यसले रेप्लिकेसन गर्ने वा आफैँले अरू नयाँ कोषिका पैदा गर्ने प्रक्रिया रोकिदिन्छ। साथै त्यसको असर आसपासका अन्य कोषिकामा पनि पर्दछ। जसका कारण छालामा चाउरी पर्न र लत्रिन सुरु गर्दछ, जुन बुढोपनाको लक्षण हो। अहिलेसम्म विश्वमा ८० प्रकारका सेनोलाइटिक औषधीका बारेमा खोज भइसकेको छ तर केवल दुई वटा औषधीको मात्रै मानिसमा परीक्षण गरिएको छ। त्यसमा डासाटिनिब र क्वरसेटिन हुन्।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस