२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बैठकका लागि एमाले नेताहरू चढेको जहाजमा खराबी आएपछि जनकपुर नओर्ली काठमाडौं फिर्ता

काठमाडौं । नेकपा (एमाले) नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै हुनुहुन्थ्यो ।

तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराउनुभयो । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताउनुभयो । बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जाँदै हुनुहुन्छ । अरु नेताहरु काठमाडौंबाट जाने तय भएको थियो ।

बुद्ध एयरको एउटा जहाज फिर्ता भए पनि एमाले नेताहरुलाई अर्को जहाजमा त्यसतर्फ पठाउने तयारी भएको छ । जहाजको ‘अटोपाइलट सिस्टम’मा प्राविधिक समस्या देखिएपछि पाइलटले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय लिएको बुद्ध एयरका एक उच्च अधिकारीले जानकारी दिनुभयो । सामान्यतया काठमाडौं विमानस्थल आपतकालीन अवस्थामा सुरक्षित मानिने भएकाले पाइलटले काठमाडौं बाहिरका अरु आन्तरिक विमानस्थलमा अवतरण गराउने जोखिम लिंदैनन् ।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस