२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

कालीकोटमा चार वर्षीय छोरासहित महिला बेपत्ता

काठमाडौं । कालीकोटको खाँडाचक्र १ मान्म बजारबाट आमा छोरा बेपत्ता भएका छन्। दानबहादुर शाहीकी श्रीमती २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बिहीबार राति बेपत्ता भएका हुन् ।

सान्नीत्रिवेणी १ लुसा माइत भएकी गीता र छोरालाई श्रीमानले नै बेपत्ता बनाएको माइती पक्षको आरोप छ। पतिसँग झगडा परेपछि गीताले कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन्। पतिले कुटपिट गर्ने गरेका कारण उनी छोरालाई लिएर बेग्लै डेरामा बस्दै आएको स्थानीयले जनाएका छन्।

उनी दानबहादुरकी कान्छी श्रीमती हुन्। मान्म बजारका व्यवसायी शाही एमालेका पूर्वजिल्ला कमिटी सदस्य समेत हुन्। उनलाई महिला हिंसा गरेको आरोपमा एमालेले केही दिनअघि कारबाही गरेको विज्ञप्तिमार्फत जनाएको थियो। आमा छोरा बेपत्ता भएपछि स्थानीयले शुक्रबार प्रहरी कार्यालय घेराउ गरेका थिए। बेपत्ता आमा छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ। गीताकी सौता रेश्मा शाहीसहित तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

 

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस