२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

महाकालीमा सत्तरी हजार रुपियाँ बोकेको झोला खस्यो

झुलाघाट (बैतडी) भदौ २८ गते। महाकाली नदीमा ७० हजार रूपियाँ बोकेको झोला खसेको छ। किनमेलका लागि बिहीबार झुलाघाट बजार जाने क्रममा एक महिलाले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो। दशरथचन्द नगरपालिका २, देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

भागरथी बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट जानुभएको थियो। भागरथीका श्रीमान रोजगारीका लागि भारतमा छन्।

केही दिन अघि मात्रै उनका श्रीमानले ४५ हजार रुपियाँ पठाउनुभएको भागरथीले बताउनुभयो। गाउँमा किराना पसल सञ्चालन गरेर गुजारा गर्दै आउनु भएकी भागरथीले पैसाको झोला महाकालीमा खसेपछि आसुँ खसाल्दै रित्तो हात घर फर्किनु परेको बताउनुभयो।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका ईन्चर्ज राजेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।

झोला भीरमा अड्केको हुनसक्ने अनुमान गर्दै सशस्त्र प्रहरी बलको उद्धार टोलीले कम्मरमा रसी बाँधेर दुईसय मिटर तल भिर हुँदै महाकाली नदी किनारसम्म खोज गरे पनि झोला नभेटिएको उहाँले बताउनुभयो। झोलामा नगदसहित बिक्रीका लागि हरियो काँक्रासमेत रहेका थिए।

 

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस