२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सुवासको उत्तराधिकारी छोरा बनाउने : शोकको घडीमा सुहाङ भन्छन्, पार्टीले सपोर्ट गरे अघि बढ्छु

काठमाडौं । हृदयाघातका कारण निधन हुनुभएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोराहरु सुहाङ र मिङ्सो नेम्वाङले पिताको काज–किरियामा बसेका छन् । यही बेला नेम्वाङले प्रतिनिधित्व गरेको इलामको संसदीय क्षेत्रको चर्चा हुन थालेको छ । हिजो मात्र नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल सहितको समवेदना दिन पुगेको पार्टी नेतृत्वसँग शोकको घडीमा नै कान्छा छोरा सुहाङले पिताका बाँकी रहेका काम पूरा गर्न पार्टीले आत्मबल दिने विश्वास व्यक्त गर्नुभयो । त्यसपछि एमालेभित्र छोरा सुहाङलाई अघि बढाउने विषयमा छलफल सुरु भएको छ ।

नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण र परिवारमा समवेदान व्यक्त गर्न बालुवाटारस्थित निवास पुग्नुभएका विष्णु पौडेलसहितका नेताहरूप्रति आभार प्रकट गर्दै सुहाङले पिताले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । यद्यपी यो बोल्दै गर्दा सुहाङ भक्कानिनु भएको थियो ।

अधिवक्ता समेत रहनुभएका सुहाङले पिता सुवास नेम्वाङको आकस्मिक निधनबाट मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएकाले बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताउनुभयो ।

नेम्वाङ २०६४ र ०७० सालको संविधान सभामा अध्यक्ष हुनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभाका सदस्यसमेत हुनुभयो । उहाँको निधनसँगै इलाम क्षेत्र नम्बर २ रिक्त हुने भएको छ । नेम्वाङको परिवार अहिले शोकमा छ । यस्तो बेलामा नेम्वाङको उत्तराधिकारीको कुरा गर्नु आँफैमा शोभनीय होईन । तर, एमालेले शोकलाई शक्तिमा बदल्नका लागि पनि नेम्वाङको उत्तराधिकारीको रुपमा भने उहाँको परिवारकै सदस्यलाई अघि बढाउने तयारी गरेको छ । कान्छो छोरा बुबाकै पथमा अग्रसर हुनुहुन्थ्यो । उहाँ पनि कानून व्यवसायमा सक्रिय हुनुहुन्छ ।

एमालेले कान्छो छोरा सुहाङलाई नै सुवास नेम्वाङको उत्तराधिकारीको रुपमा अघि बढाउने बुझिएको छ । नेम्वाङको निधनसँगै रिक्त हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमार्फत नै सुहाङले सक्रिय राजनीतिमा पाइला टेक्नसक्ने अनुमान सुरु भएको छ । यसलाई बल पुग्नेगरी पार्टीले सहयोग गरोस् सुहाङले शोकको घडीमा नेताहरुसँगको भेटमा अभिव्यक्ति दिनुभएको छ । यसले पनि उहाँ सक्रिय राजनीतिमा आउने संकेत बुझिन्छ ।

एमालेले यसअघि पनि आफ्ना नेताको निधन भएपछि भएका निर्वाचनमार्फत स्वर्गीय नेताका परिवारका सदस्यलाई नै अवसर दिएको इतिहास छ। विद्यादेवी भण्डारीदेखि विद्या भट्टराईसम्मको इतिहास हेर्ने हो भने सुवासको उत्तराधिकारीको रुपमा सुहाङले नै राजनीतिमा डेब्यु गर्ने अनुमान सजिलै गर्न सकिन्छ । गत वर्ष मंसिरमा भएको निर्वाचनमा सुवास नेम्वाङले कांग्रेसका डम्बर बहादुर खड्कालाई पराजित गर्नुभएको थियो । नेम्वाङ र खड्काबीच जम्मा १ हजार १४ मतको अन्तर थियो ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस