२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

रास्वपाले भन्यो, शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । विधेयकको विरुद्धमा शिक्षकहरु आन्दोलित भएपछि रास्वपा प्रवक्ता डा. मुकुल ढकालले नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयको गुणस्तर उकास्न आवश्यक भएको बताउनुभएको छ ।

ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निश्चय नै शिक्षक जस्तो मर्यादित र अति सम्मानित पेशालाई सरकारबाट कहिल्यै उचित व्यवहार भएन । समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षौंसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरुलाई अन्योलमा राखिँदै आएको पाइन्छ । रास्वपाले शिक्षकको तलब सुविधा सबैभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटक पटक आवाज उठाउँदै आएको छ ।’

विद्यार्थीहरुको उज्ज्वल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै उहाँले शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने पार्टीको नीति रहेको बताउनुभयो ।

‘शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदाहुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं’, रास्वपाले भनेको छ ।

 

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस