२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

तस्करी नियन्त्रणसँगै सुनको दैनिक आयात कोटा दोब्बर बढाएर २० केजी पुर्‍याइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको हो ।’

यद्यपि राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो । वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउनेमा २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो ।

कोभिड–१९ महामारी पछि बढेको आयात र रसिया(युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दबाबपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो । तर, अब बाह्य क्षेत्र स्थिर बन्दै गएको र सकारलाई पनि आयात संकुचन हुँदा राजस्वमा दबाब बढ्दै गएपछि सरकारले सुन आयातको सीमा बढाउने निर्णय गर्दै कार्यान्वयनका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकका एक अधिकारीले बताउनुभयो । तस्करी नियन्त्रणसँगै सुनका गहना निर्माण कम्पनीहरुले बैंकबाट नै सुन बढी किन्न थालेका छन् । यसअघि उपभोत्ताको माग उच्च रहेपनि कम मात्रामा बैकबाट सुन खरिद हुन्थ्यो । सुन तस्करीमा सरकारले लिएको एक्शनपछि तत्काल डराएका तस्करले तस्करीबाट सुन ल्याउन छोडेपछि सुनको माग बैकहरुले धान्न सकेका थिएनन् ।

 

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस