२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका, वडा नं. ८, कचोर्वास्थित जनता मा.वि.को भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले प्राविधिकले भुक्तानीको लागि स्वीकृत भएको भन्दा ६ लाख ५८ हजार ४४० बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको प्रमाणित भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनीहरुविरुद्ध सरकारी रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिँदा मरासेनी र सर्मेन्द्र चौधरीलाई ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो माग दावी गर्दै मुद्धा दायर गरेको प्रवक्ता दाहालले बताए ।

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस