२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

ठाउँ र समय तोकेर व्यापार गर्न दिन काठमाडौं महानगर सहमत, ईः को आन्दोलन रोकिने

काठमाडौं । काठमाडौं महानगर सडक व्यवसायीलाई छठसम्म ठाउँ र समय तोकेर व्यापार गर्न दिन लचिलो भएको छ। चाडपर्वलाई लक्षित गर्दै सडक व्यवसायीलाई व्यापार गर्न दिन महानगर तयार भएको महानगर स्रोतले जनाएको छ।
उक्त विषयमा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच छलफल भएको थियो। यसका साथै केही नीतिगत विषय पनि संशोधन गर्नु पर्ने भन्दै पुसमा हुने कार्यपालिका बैठकमा नीति संशोधन गर्न सकिने पनि महानगरले जनाएको छ।
सहमति भएर मस्यौदा तयार भइरहेको वार्तामा उपस्थित एक सदस्यले जानकारी दिए। यसअघि महानगर र ईः का प्रतिनिधिबीच छलफल भए पनि अहिले ईः पनि वार्तामा सहभागी भएका छन्। मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा महानगरले बनाएको वार्ता टोली र ईः का प्रतिनिधिबीच वार्ता भएको थियो।

करिब ३ घण्टा लामो छलफलपछि वार्ता सकारात्मकउन्मुख भएको महानगर स्रोतले जनायो। वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानून न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ईः का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए।

उपमेयर डंगोलले मंगलबार बिहान ईः लगायतसँग भेटेर कुराकानी गरेकी थिइन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ईः सौम्य विद्रोह थालेका हुन्। काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्ने लगायत माग ईः ले राखेका छन्। महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्न पनि ईः ले माग गरेका छन्।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस