२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

एमाले कर्णाली अधिवेशन : मतदान भोलिका लागि सारेर समय र स्थान तोकियो

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन समय लम्बिएको छ। शनिबार दिउँसो १२ बजेका लागि तय भएको मतदान कार्यक्रम भोलि (आइतबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको छ । स्थान सिटी हल तोकिएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए ।

शनिबार बिहानै अन्तिम नामावली सार्वजनिक गरेर मतदान सुरु गर्ने बताइएको थियो। यद्यपि शनिबार मतदान हुन सकेन। मतदानका लागि कुनै तयारी नभएपनि उम्मेदवारहरू प्रतिनिधिसँग भोट माग्दै हिँडेका छन्।

एमाले कर्णाली प्रदेश कमिटी १३० सदस्यीय बन्ने छ। जसमा पदाधिकारी पाँच जना, अन्य सदस्यहरू १२५ जना निर्वाचित हुनेछन्। अध्यक्षका लागि कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोछका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ। कर्णाली एमालेको नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको भएपनि शनिबार राजबहादुर शाही र प्रेमबहादुर सिंहले फिर्ता गरेका थिए।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस