२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारी सडकमा उत्रिए

काठमाडौं । शिक्षक र डाक्टरपछि आजदेखि स्थानीय तहका कर्मचारीले आन्दोलन थालेका छन् । निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू हातमा कालोपट्टी बाँधेर काम ठप्प पार्दै सडकमा उत्रिएका हुन् । यसअघि शिक्षक र डाक्टरहरूले विभिन्न पेशागत तथा सुरक्षाको माग राख्दै सडक तताएका थिए । सरकारले उनीहरूसँग सम्झौता गरिसकेको छ ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा भएको आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौं भेला भएका छन् । उनीहरूले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने, निजामतीको परिभाषामा आफूहरूलाई समेट्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्ति विकास गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीलाई उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियनको अधिकार दिनुपर्नेलगायतका माग राखेका छन् ।

असोज १९ सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका संयोजक दीपक गौतमले बताए । भोलि देशभरका स्थानीय तहमा कालोपट्टी बाँधेर बस्ने र ध्यानाकर्षण पत्र बुझाउने गौतमले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस