२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

नेपालगञ्जमा आंशिक रुपमा हट्यो कर्फ्यू, निषेधाज्ञा भने जारी

नेपालगञ्ज । धार्मिक तथा सामाजिक सद्भाव विथोलिने संकेत देखेपछि बाँकेको नेपालगञ्जमा ३ दिनदेखि लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी बिहीबार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्ज उपमहानगर क्षेत्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा जाने रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा लगाइएको कर्फ्यू बिहीबार साँझ ६ बजेसम्मलाई हटाइएको बताए।

बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म भने पूर्ववत् अवस्थामा नै नेपालगञ्ज उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जनाएका छन्। नेपालगञ्ज उपमहानगर क्षेत्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा जाने रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा निषेधाज्ञा भने जारी छ। उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता सामग्री टास्न वा लेख्न नपाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँङ्गा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरु जम्मा भएको पाइए कारबाही गरिने प्रजिअ आचार्यले जनाएका छन्। पछिल्लो समय हिन्दू र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व बढाउने गतिविधि बढेपछि स्थानीय प्रशासनले नेपालगञ्ज क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो। यस बीचमा धार्मिक तथा सामाजिक सद्‌भाव कायम राख्न भन्दै दुवै समुदायका अगुवाले सद्भाव र्‍याली तथा बैठकहरु समेत आयोजना गरेका छन्।

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस